तीन महिनामा ४० प्रतिशतले घट्यो टेलिकमको नाफा

नेपाल टेलिकमले नयाँ आर्थिक वर्षको पहिलो तीन महिनामा ४० प्रतिशत नाफा गुमाएको छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म टेलिकमले कुल डेढ अर्ब नाफा गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत कम हो ।

नयाँ आर्थिक वर्षको पहिलो त्रैमासिकमा टेलिकमले १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६४ करोड ६७ लाख नाफा गरेको थियो । नयाँ आर्थिक वर्षको पहिलो त्रैमासमा सेवाबापतको आम्दानीमा पनि कमी आएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले या अवधिमा सेवाबापत मात्रै ८ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा सेवाबापत मात्र कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सेवातर्फ र अन्य आम्दानीसहित कम्पनीले यो त्रैमासमा १० अर्ब १० करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ६० करोड ३९ लाख थियो । विश्वव्यापी रूपमा उपभोक्ता भ्वाइसबाट डेटातर्फ आकर्षित भइरहेको र ओभरदी टप एप्लिकेसनका कारण अन्तर्राष्ट्रिय भ्वाइस कलबाट हुने आम्दानी घटेको कम्पनीले बताएको छ । एक देशबाट अर्को देशमा कल गर्दा महँगो हुने भएकाले उपभोक्ताले इन्टरनेटको सहायतामा विभिन्न एपमार्फत कुराकानी गर्न थालेपछि संसारभरका टेलिकम कम्पनीको आयमा असर परिरहेको छ । केही वर्षअघिसम्म नेपालका टेलिकमको आम्दानीको एकतिहाइ हिस्सा अन्तर्राष्ट्रिय कलबाट हुने गर्थ्यो ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा आएको कमीका कारण पनि आफ्नो आय प्रभावित भएको वित्तीय विवरणमा विश्लेषण गरिएको छ । कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण पनि सेवातर्फको आय घटेको कम्पनीको विश्लेषण छ । लकडाउनका बेला सरकारको निर्देशनमा डेटा तथा भ्वाइस सेवातर्फ ३० प्रतिशत छुट दिनुपरेका कारण आयमा कमी आएको कम्पनीको निष्कर्ष छ । यस्ता बाह्य कारणले आयमा कमी आएको भए पनि कर्मचारीको काम गर्ने शैलीमा आएको परिवर्तन र सेवा विस्तारको परियोजनामा ढिलाइका कारण पनि सेवाको गुणस्तर सुधार प्रभावित बनेको वित्तीय विवरणमा जनाइएको छ |

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *