सेयर बजार बुलिस बाटोतिर: सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्बको कारोबार

नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको पुष्टि गरे । उनले भने, ‘यसअघि एकैदिन ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो, आज नयाँ रेकर्ड कायम भएको हो ।’

शेयर कारोवार मापक नेप्से (नेपाल स्टक एक्सचेञ्ज)परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ। नेप्से परिसूचक  ३६.३२ अंकले बढेर  १७७८.१२ विन्दुमा  पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९८ विन्दुले बढेर ३४३.०७ मा पुगेको छ। कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भएका छन्।

नेप्से परिसूचकमा निरन्तर वृद्धिसँगै कारोबार रकमले समेत नयाँ उचाइ हासिल गरेपछि लगानीकर्ताले सेयर बजार अब बुलिस बाटोतिर उन्मुख भएको विश्लेषण गर्न थालेका छन्।

गत साउनको पहिलो हप्ता नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले प्रदान गरेको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्। त्यसपछि नै  सेयर बजारमा सुधारको क्रम सुरु भएको थियो। पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्‍त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्‍त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो।

यसअघिपनि पौडेल अर्थमन्‍त्री हुँदा सेयर बजारले नयाँ रेकर्ड तोडेको थियो।  नेप्से सूचक यसअघिको अहिलेसम्मै सर्वाधित उच्च विन्दु  १८८१ पुगेको थियो।  पुँजी बजारलाई प्रोत्साहित गर्ने नयाँ अर्थमन्‍त्रीको नीतिगत तयारीसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन्। संकटका बेला लगानीका अरु क्षेत्र खुम्चिएको तथा जोखिम बढेकोले पनि लगानीकर्ताहरू सेयर बजार प्रति बढी आकर्षित देखिएका छन्। सस्तो ब्याजदरमा सुलभ रुपमा सेयर कर्जा उपलब्ध हुनु तथा पुँजी बजारलाई प्रोत्साहन गर्नेतिर अर्थमन्‍त्री, गभर्नर  तथा अन्य सरोकारवाला निकायको भूमिका सकारात्मक देखिएकोले पनि लगानीकर्तामा आत्मविश्‍वास र उत्साह जागेको हो।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *